२७  २०८३ शनिबार | 12 Sep 2026 Sat

उखु खेतीबाट मनग्य आम्दानी

घरमै बसीबसी उखु खेतीबाट मनग्य आम्दानी

  • दिनेश चौधरी
  • २  २०८१ बुधबार (२ बर्ष अघि)
  • पाठक संख्या १५८४
  • कञ्चनपुर , बेलौरी

     

    अन्य खेतीबाट सोचेजस्तो कमाई नभएपछि घरमै बसी बसी बेलौरी नगरपालिका-७ टेडियाका भागुराम चौधरीले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

    बीस वर्षदेखि उखु खेती गर्दै आएका चौधरीले  वार्षिकरुपमा सोह्र लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । ट्रेन्च प्रविधिमा चौधरीले उखु खेती गर्दै आउनुभएको छ । दश बिघा जग्गामा चौधरीले उखु खेती गर्नुभएको छ ।

    “तेह्र बिघा जग्गामध्ये तीन बिघा जग्गा मेरो स्वामित्वको हो”, उहाँले भन्नुभयो, “तीन बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, दश बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु ।” दश बिघा जग्गामा पाँच हजारदेखि पाँच हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ ।

    “उत्पादित उखु चिनी मिलमा खेतबाटै आफ्नै गाडीमा ढुवानी  गरेको छु । पैसा बैङ्क खातामा मिलले नै हालिदिन्छ”, उहाँले भन्नुभयो, “उखु लगाउने, गोडमेल गर्ने, सिँचाइ गर्ने, मलखादको व्यवस्था गर्ने, कटान गरी मुठा बाँधेर राख्ने काम मात्रै मैले मजदुर लगाएर गर्ने गरेको छु ।” मजदुरको ज्याला, सिँचाइ, मलखाद, जोताइमा गरी दस लाखदेखि दश लाख ३० हजारसम्म खर्च आउने गरेको उहाँले बताउनुभयो । 

    घरमै बसी बसी आम्दानी हुँदै आएकाले यस खेतीलाई आधा दशकदेखि निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार एकपटक लगाएपछि दुई वर्षसम्म उखुलाई सामान्य मिहिनेत गरी आम्दानी लिन सकिन्छ ।

    उखु खेतीको आम्दानीसँगै श्रीमान श्रीमती दुवै जनाले गर्ने कामबाट वर्षमा सोह्र लाख जति आम्दानी हुन्छ । विदेशमा भन्दा स्वदेशमै काम गरे परिवारसँगै बसेर सहजरुपमा आम्दानी लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसका लागि धैर्य, इच्छाशक्ति र लगनशीलताको खाँचो छ, व्यवसायमा थोरै लगानी गरेर पनि धेरै कमाउन सकिन्छ ।” 

    चौधरी जस्तै टेडिया गाउँका सयौं किसानले व्यावसायिकरुपमा उखु खेती गर्दै आएका छन् । उखु खेती हुने गाउँका रुपमा परिचित टेडियाका गाउँका किसानहरुको उखु खेतीबाट मनग्य आम्दानी  रहेको वडाअध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । “उखु खेती गर्दा बीउ, कृषि औजार, मलखाद र सिँचाइमा अनुदानको व्यवस्था गरिए उखुको उत्पादन बढ्न सक्छ”, उहाँले भन्नुभयो, “किसानको आम्दानी बढछ, वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोक्न सकिन्छ ।”

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस