२७  २०८३ शनिबार | 12 Sep 2026 Sat

१४ वर्षसम्मका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क

भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षसम्मका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क

  • चौधरी खबर
  • ५  २०८१ बुधबार (२ बर्ष अघि)
  • पाठक संख्या ३३२
  •  

    भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षसम्मका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्न थालेको छ । अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले सरकारको निर्णय अनुसार आइतबारदेखि १४ वर्षसम्मका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार सुरु गरिएको जानकारी दिनुभयो । उहाँले एकदेखि १४ वर्षसम्मका बालबालिकाको कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै बालबालिकाको क्यान्सर उपचार पूर्ण रूपमा निःशुल्क गरिएको बताउनुभयो ।

    “भक्तपुर क्यान्सर अस्पतालमा वार्षिक सरदर १५० जना बालबालिका यस्तो रोगका बिरामी आउँछन्,” डा. चालिसेले भन्नुभयो, “ती सबै बालबालिकाको क्यान्सर उपचार अब निःशुल्क हुन्छ ।” निर्देशक डा. चालिसेले क्यान्सर उपचार निःशुल्क भएपछि १५० बाट बिरामीको सङ्ख्या बढ्न सक्ने जानकारी दिनुभयो । 

    उहाँले बालबालिकालाई सबैभन्दा बढी रक्त क्यान्सर हुने गरेको जानकारी दिनुभयो । रक्त क्यान्सरबाहेक मस्तिष्क क्यान्सर, कलेजोको क्यान्सर, मिर्गौलाको क्यान्सर लागेका बिरामी बालबालिका उपचारका लागि आउने गरेका छन् ।  नेपालमा सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सर उपचार हुने गरेको छ । 

    डा. चालिसेले बालबालिकाका लागि क्यान्सरमा आवश्यक ३५ प्रकारका औषधी निःशुल्क प्रदान गरिने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले क्यान्सरको उपचारमा लाग्ने औषधीका लागि विश्व स्वास्थ्य सङ्गठनसँग सहमति गरिएको जानकारी दिनुभयो ।  

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस