भ्वाइस अफ चिल्ड्रेनले अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारविरुद्ध विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय कोभिड-१९ पछि अनलाइन शिक्षा लगायतका कार्यमा इन्टरनेट बढी मात्रामा प्रयोग भएसँगै अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनाहरु धेरै मात्रामा बढ्न थालको छ ।
हुन त कोभिड-१९ अघि पनि घटनाहरु भएका थिए, तर पछि धेरै मात्रामा बढेका छन् । अनलाइनबाट हुने यौन दुर्व्यवहार र शोषणका घटनाहरु बढ्न थालेपछि बालबालिकाको पढाइमा असर, बानी व्यवहारमा असर, मानसिक तथा शारीरिक स्वास्थ्यमा असर, परिवारमा बेमेल, बालबालिका घर छोडेर हिँड्ने, गरेकोले र यससम्बन्धी नीति नियमहरु पनि कम भएको र प्रभावकारी नभएकाले भ्वाइस अफ चिल्ड्रेनले अनलाइन बाल यौन दुर्व्यवहार रोकथामको परियोजना सञ्चालनमा ल्याएको भ्वाइस अफ चिल्ड्रेनको उपनिर्देशक राजु घिमिरेले बताउनुभयो ।
जसमा हालसम्म २५० भन्दा बढी अनलाइन बालयौन दुर्व्यवहारबाट प्रभाविता बालबालिकाका घटनाहरु व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रम नेपाल सरकारको सहकार्यमा कोशी प्रदेशको सुनसरी र बाग्मती प्रदेशको ललितपुरमा सञ्चालन हुँदै आएको घिमिरेले बताउनुभयो । भ्वाइस अफ चिल्ड्रेनले सडक बालबालिकासँगै अहिले साइबर सेफ्टी परियोजना काम गरिराखेको छ । “यो ल्याउनुको मुख्य कारण अनलाइन बाल यौन दुर्व्यवहार नै हो,” उहाँले बताउनुभयो ।
बढ्दो इन्टरनेटसँगै अनलाइनबाट हुने दुर्व्यवहाररहरु पनि बढिरहेकोले यससम्बन्धी कार्यक्रमहरु दिन जरुरी रहेकोले बालबालिकालाई लक्षित गरी विद्यालयमा आयोजना गरिएको भ्वाइस अफ चिल्ड्रेन साइबर सेफ्टी परियोजनाको अधिकृत लीला भुजेलले बताउनुभयो ।
पछिल्लो समय इन्टरनेटको बढ्दो प्रयोगसँगै बालबालिकाहरुमा अनलाइनबाट हुने यौन दुर्व्यवहार पनि बढ्दै गएको छ । यसको न्यूनीकरणसम्बन्धी बालबालिकाहरुलाई भ्वाइस अफ चिल्ड्रेनका भोलेन्टियरहरुले सुनसरीभरि विद्यालयहरुमा कार्यक्रमहरु गर्दै आएको भ्वाइस अफ चिल्ड्रेनका भोलेन्टियर एलिना राईले बताउनुभयो ।
धरानमा ज्ञानोदय माध्यमिक विद्यालयबाट सुरु गरिएको र धरानका सबै सामुदायिक विद्यालयमा कार्यक्रम गरिने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो। अनलाइनबाट हुने बाल न्यूनीकरण गर्न र यसबाट हुन सक्ने जोखिमबारे बालबालिकाहरूलाई सचेत गराउन यस्तो कार्यक्रम महत्वपूर्ण हुने राईले बताउनुभयो ।
बढ्दो इन्टरनेटको प्रयोगसँगै दुरुपयोग पनि बढीरहेकोले सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्न, बालबालिका तथा युवा वर्गलाई जोखिमहरू तथा त्यसबाट उनीहरूको लागि चेतना अभिवृद्धि गर्नका लागि गरिएकोे उहाँको भनाइ छ । धरानमा यस कार्यक्रमबाट धेरै विद्यार्थीले आफूलाई परेको दुर्व्यवहारबारे घरपरिवारमा भन्न नसकेका कुराहरु समेत शेयर गरेको उहाँले बताउनुभयो । जसमा प्रहरीसँग समन्वय गरेर पीडित बालिकाहरुलाई उद्धार गरि पीडकहरुलाई उजुरी गरी पीडितहरुलाई काउन्सिल पनि दिइरहेको उहाँले बताउनुभयो । जसले गर्दा यो कार्यक्रम विद्यालयहरुमा प्रभावकारी रहेको राईले बताउनुभयो ।
भ्वाइस अफ चिल्ड्रेनले वर्ष भरी नै इटहरी, धरानलगायत सुनसरीका विद्यालयहरुमा अनलाइनबाट हुने यौन दुर्व्यवहार न्यूनीकरणसम्बन्धी कार्यक्रम, शिक्षक अभिभावक संघ, बालअधिकार समितिहरुलाई पनि विभिन्न तालिम दिएर क्षमता विकासका कार्यक्रम गर्दै आएको अधिकृत भुजेलले बताउनुभयो ।
यस कार्यक्रमको लागी स्थानीय सरकारसँगको सहकार्य र समन्वयमा स्थानीय बालअधिकार समितिको क्षमता विकास र उनीहरुलाई चेतनामूलक कार्यमा सहभागी गराउने गरेका छौं । हाल सञ्चालनमा रहेका कार्यक्रमहरु विद्यालय र समुदायमा अनलाइन बालयौन दुर्व्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम बाल अधिकार समिति र संरक्षण संयन्त्रहरुलाई तालिममार्फत क्षमता विकास बालक्लबहरुको गठन, चेतनामूलक कार्यमा साथी शिक्षकहरुको परिचालन गरी अनलाईन बालयौन दुर्व्यवहारविरुद्ध विद्यालयहरुमा गई सचेतना कार्यक्रम गर्दै आएको उपनिर्देशक घिमिरेले बताउनुभयो ।
यस संस्थाले अनलाइन बाल यौन दुर्व्यवहारमा परेका बालबालिकालाई उद्दार तथा संरक्षण, मनोसामाजिक परामर्श र स्वास्थ्य उपचार, कानुनी सहायता, अध्ययनमा सहयोग, परिवार तथा बालबालिकाको अवस्था लेखाजोखा गरेर आवश्यकता अनुसारको सहयोग जस्तै आयआर्जन, अध्ययन, लगायतहरुमा समेत सहयोग गर्दै आएको छ ।
संस्था भ्वाइस अफ चिल्ड्रनले विशेषगरी देहायका क्षेत्रमा काम गर्दछ जसको काम, सडक बालबालिका, यौन दुर्व्यवहार शोषणमा परेका बालबालिका र श्रममा लागेका बालबालिकाको उद्दार, पुनस्र्थापना र पुनर्मिलन, जोखिममा रहेका परिवारहरुको क्षमता विकास, बालकलाई हुने यौन दुर्व्यवहार विरुद्धको अभियान सञ्चालन, बालअधिकार प्रवर्धन गर्न चेतनामुलक कार्यक्रम, बालसंरक्षण र अधिकार हननबारे अध्ययन अनुसन्धान लगायतको कार्यहरु गर्दै आएको छ ।
समुदायमा हुने दुर्व्यवहार र शोषणबाट जोगाउने, परिवारबाट अलग भएका बालबालिकाको संरक्षण र सामाजिक पुनर्मिलन सुनिश्चित गर्ने, बालअधिकार र संरक्षणको प्रवर्धनका लागि सरकारी संरक्षण प्रणालीलाई सुदृढ गर्न र बालअधिकारसम्बन्धी नीतिहरू कार्यान्वयन तथा पुनरवलोकनका लागि सहयोग गर्ने यस संस्थाको उद्देश्य रहेको घिमिरेले बताउनुभयो ।
बालबालिकाहरु सडकमा आउनुको कारण चाहिं अभिभावकले राम्रो हेरचाह र स्याहार नगर्नु, परिवारको आर्थिक अवस्था कमजोर हुनु, राम्रो शिक्षा र अन्य सुविधामा कमी हुनु, साथीसँगीहरुको देखासिकी र उत्सुकता परिवार छोड्ने, परिवारमा हिंसा र अपहेलना, परिवारले पढ्न नपठाउने र काममा पठाउने, आमाबुवाले अर्को विवाह गर्नेलगायत अहिलेसम्मको तथ्याङ्कले देखाएको छ ।
भ्वाइस अफ चिल्ड्रेनले विगत २४ वर्षदेखि सडक बालबालिकाका लागि पारिवारिक तथा सामाजिक पुनर्मिलन, बालयौन शोषण र दुर्व्यवहारमा परेका बालबालिकाको संरक्षण तथा जोखिम क्षेत्रमा रहेका परिवारहरुका लागि परिवार विकास कार्यक्रम सञ्चालन गर्दै आएकोे उपनिर्देशक घिमिरेले बताउनुभयो ।