१८  २०८३ बिहिबार | 03 Sep 2026 Thu

बेलाैरी : सामाजिक अभियन्ता गिरीद्वारा तीन बुदेँ ज्ञापन

निःशुल्क एम्बुलेन्स, शववाहन र फोहोर व्यवस्थापनमा तत्काल ध्यान दिन आग्रह

  • दिनेश चौधरी
  •     (११ महिना अघि)
  • पाठक संख्या १३०७
  • बेलौरी नगरपालिकाका स्थायी युवा एवम् सामाजिक अभियन्ता धर्मेन्द्र गिरीले सोमबार बेलौरी नगर प्रमुख पोतीलाल चौधरीलाई तीन बुदेँ ज्ञापनपत्र बुझाएका छन् ।

    अभियन्ता गिरीले उक्त ज्ञापनपत्र बुझाउँदै नगरवासीका तर्फबाट स्वास्थ्य, सरसफाइ र नागरिक सेवासँग सम्बन्धित तीन महत्वपूर्ण मागहरू अघि सारेका हुन्।

    गिरीद्वारा बुझाइएको ज्ञापनपत्रमा नगरवासीका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुपर्ने, आकस्मिक अवस्थाका बिरामीलाई छिटो अस्पताल पु-याउनका लागि नगरपालिकाले तुरुन्तै कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

    हाल बेलौरी क्षेत्रका बिरामीहरूलाई उपचारका लागि धनगढी वा महेन्द्रनगर लैजान कठिनाइ र आर्थिक बोझ पर्ने समस्या देखिँदै आएको भन्दै, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन अब अनिवार्य आवश्यकता बनेको ज्ञापनपत्रमा भनिएको छ।

    त्यस्तै, नगरभित्रका सर्वसाधारणका लागि निःशुल्क शववाहन, शव भण्डारण फ्रिजर र अन्त्येष्टि स्थलमा शव जलाउने ठाउँको व्यवस्था गर्न माग गरिएको छ।

    भने वर्षायाममा अन्त्येष्टि गर्न कठिनाइ हुने भएकाले शव जलाउने छत्री (छाना) निर्माण गर्न समेत ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।

    तेस्रो मागका रूपमा गिरीले नगर क्षेत्रका फोहोर व्यवस्थापनलाई तात्कालिन र दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

    फोहोर उठाउने कार्यमा ढिलाइ र व्यवस्थापनको अभावले बजार क्षेत्र अस्वच्छ बन्दै गएको भन्दै उनले बेलौरी बजारकाे फोहोर तत्काल उठाउने र स्थायी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

    ज्ञापनपत्रमा भनिएको छ, “नगरवासीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित यी मागहरू केवल सेवामात्र होइन, नगरको अनुशासन र सुशासनका मापन पनि हुन्।”

    सामाजिक अभियन्ता गिरीका अनुसार, सोमबार नगर प्रमुख पोतीलाल चौधरीलाई ज्ञापनपत्र बुझाउँदा मेयर चौधरीले मागहरू जायज रहेको र सम्बोधनका लागि आफू तयार रहेको जनाएका छन्।
    उनले भने, “नगरपालिकाले नागरिकका यथार्थ र व्यवहारिक मागलाई प्राथमिकतामा राख्दै आवश्यक पहल गर्नेछ।”

    गिरीले भने, “हामीले नगर प्रमुखलाई नगरवासीको आवाज पुर्‍याएका हौं। अब ती मागहरू कार्यान्वयन हुनेमा आशावादी छौं।”

    उक्त ज्ञापनपत्र बेलौरी नगरपालिकाको कार्यालयमा औपचारिक रूपमा बुझाइएको सामाजिक अभियन्ता गिरीले जनाए।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस