केही तथ्यांकको साझा निचोड के छ भने छोरीको संख्या घट्दैछ । चाहे तपाईं पछिल्लो जनगणनाको तथ्यांक केलाउनुहोस् वा कुनै प्रसूति अस्पतालको जन्म विवरण हेर्नुहोस् । छोरी जन्मिने क्रम निरन्तर घट्दो छ । र, यो स्थिति कायम रहेमा कुनैबेला मुलुकमा लैङ्गीक असन्तुलन प्रष्ट देखिनेछ ।
छोरी जन्मिने क्रम घटेको हो वा कम जन्माइएको हो ? यो रोचकभन्दा पनि संवेदनशील प्रश्न हो । यहाँ तथ्यांकलाई हेरौं । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई हेर्ने हो भने जनगणना अनुसार कुल ४ लाख १२ हजार ९३५ नवजात शिशुमध्ये २ लाख १८ हजार ७४ (५२.८ प्रतिशत) छोरा र १ एक लाख ९४ हजार ८६१ (४७.३ प्रतिशत) छोरी रहेको छ । जनगणना भएको वर्ष २०७८ सालमा ११२ बालक जन्मिंदा १०० बालिका जन्मिरहेको देखिन्छ ।
प्रसूति सम्बन्धी विशेषज्ञ सेवा दिने मुलुकको प्रमुख सरकारी अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जन्मिएका शिशुहरूको तथ्याङ्क हेर्ने हो भने पनि छोरा जन्मिने सङ्ख्या बढी देखिन्छ ।
आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा कुल २२ हजार ३६२ शिशुको जन्म भयो । त्यसमध्ये छोरी १० हजार ४१६ छोरा ११ हजार ९४६ जना छन् ।
२०७६/७७ मा कुल २२ हजार ६८९ शिशुमध्ये छोरी १० हजार ५०५ छन् भने छोरा १२ हजार १८१ छन् । २०७७/७८ कुल २२ हजार २२२ शिशुमध्ये छोरी १० हजार ४३५ छन् भने छोरा ११ हजार ७८७ छन् । २०७८/७९ मा कुल २४ हजार ५९३ शिशुको जन्म भएकोमा छोरी ११ हजार ४१५ छोरा १३ हजार १७८ जना जन्मिएका छन् ।
२०७९/८० मा २४ हजार ९१४ जन्मेका शिशुमध्ये छोरा ११ हजार ५७७ छोरी १३ हजार ३३८ छन् । त्यस्तै २०८०/८१ मा कुल २२ हजार ६१२ शिशुमध्ये छोरी १० हजार ५१६ र छोरा १२ हजार ५७ छन् ।
प्रसूति गृहमा पाँच वर्षमा जन्मिएका १ लाख ३९ हजार ३९१ शिशुमध्ये छोरी ६४ हजार ९०४ र छोरा ७४ हजार ४८७ छ । पाँच वर्षको अन्तरालमा जन्मिएका छोराको सङ्ख्या छोरीको भन्दा ९ हजार ५८३ ले बढी छ ।
किन घट्दैछ छोरीको संख्या ?
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसङ्ख्या विभाग प्रमुख योगेन्द्रबहादुर गुरुङका अनुसार नेपालमा छोरीको तुलनामा छोराको जन्म किन बढी भइरहेको छ भन्ने कुरामा धेरै कुरा जिम्मेवार छ । विश्वका धेरै देशमा प्रजनन् दर नै घट्दै गइरहेको छ । नेपालमा पनि यो दर घट्दै गएको छ । ‘पहिले चार-पाँच जना सन्तान जन्माउँदा केही छोरा, केही छोरी जन्मन्थे । कसैकसैको मात्र कि छोराछोरा कि छोरीछोरी जन्मिन्थे । त्यसैले छेरा र छोरीको खासै चासो हुँदैन थियो’ गुरुङ भन्छन्, ‘तर जब प्रजनन् दर घट्दै जान्छ । तब छोरा चाहिं नभई नहुने, छोरी चाहिं नभए पनि हुन्छ भन्ने सोचतिर समाज गएको छ ।’
उनी अगाडि भन्छन्, ‘हाम्रो समाज त पितृसत्तात्मक सोचले गाँजिएको छ । त्यसको प्रभावले गर्दा छोरा चाहिं जन्माउनैपर्छ भन्ने एउटा सोच छ । छोराले वंश धान्छ, छोराले नै वैतरणी तार्छ, सम्पत्ति खान्छ भनेर पनि छोरा नै जन्माउन चाहन्छन् । त्यसैले छोरा जन्मिने क्रम बढ्छ ।’
अहिले विभिन्न प्रविधिमार्फत गर्भमा हुर्कीरहेको सन्तान छोरा वा छोरी के हो भनेर हेर्न मिल्छ । आफूले चाहेको सन्तान जन्माउने गर्दा पनि छोरा जन्मिने दर बढेको हुनसक्ने उनी बताउँछन् ।
जनसङ्ख्यालाई आधार मान्ने हो भने पनि जसको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ उनीहरूको छोरी हुँदैन । दुई सन्तान हुनेहरूको छोरा-छोरी, छोरी-छोरा छन् भने अर्को सन्तान जन्मेको हुँदैन । दुईजना छोरी छोरी छन् भने उनीहरूले अर्को छोरा जन्माउने गरेको पाइन्छ ।
‘जनगणना भएको वर्ष २०७८ सालमा ११२ बालक जन्मिंदा १०० बालिका जन्मिरहेको देखिन्छ । धनुषामा भने १०० बालिका जन्मिंदा लगभग १२७ बालक जन्मेको देखिन्छ । यसले तराईमा छोरीको जन्मदर झन् कम भएको देखायो’ उनी भन्छन् ।
महिला सशक्तीकरणको क्षेत्रमा सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय सङ्घसंस्थाले धेरै काम गरेका छन् । यसरी काम गरिरहँदा पनि नेपालमा कतिपय छोरी जन्मिनै पाउँदैनन् भने यसले त एउटा ठूलो प्रश्न खडा गर्छ । यसले त महिला सशक्तीकरणको क्षेत्रमा काम गराइ पुगेको छैन भन्ने कुरा औंल्याएको जनसंख्याविद् गुरुङ बताउँछन् ।
‘महिला सशक्तीकरणका लागि उनीहरूको हक अधिकारको कुरा त हामी गर्छौं । तर यो कुरा सतही मात्र हो, मान्छेको मानसिकता र हृदयसम्म नै छोरीलाई माया, सम्मान गर्नुपर्छ भन्ने कुरा पुर्याउन सक्नुपर्छ । होइन भने छोरी जन्मिने क्रम क्रमशः घट्दै जान्छ’ उनले भने ।
छोरीको जन्म घट्नुले समाजमा कस्तो असर गर्छ ?
यसै गतिमा छोरीको जन्मदर घट्दै जाने हो भने नेपालमा छोरीको संख्या कम हुन्छ । यस्तो हुँदा विवाह गर्ने बेला केटाले केटी भेट्न नै गाह्रो हुने अवस्था सिर्जना हुनसक्छ । यस्तो हुँदा समाजमा यौनजन्य अपराधको घटना बढ्ने सम्भावना बढी हुने गुरुङ बताउँछन् ।
समाजमा यसरी छोरा जन्मिने क्रम बढ्दै जाने र छोरी जन्मिने क्रम घट्दै जाने हो भने लैङ्गिक विभेदलाई स्वीकार्ने सामाजिक मनोविज्ञान बन्ने समाज शास्त्री पौडेलले बताइन् । उनी भन्छिन्, ‘साथै, छोरी जन्मिने क्रम घट्दा प्रजनन् दर घट्छ र कुल जनसङ्ख्यामा नै असन्तुलन आउँछ ।’
छोरा बढी जन्मेको हो कि जन्माइएको हो ?
प्राकृतिक रुपमा नै पनि छोरीको तुलनामा छोरा जन्मिने क्रम केही मात्रामा बढी हुन्छ । तर छोरा जन्मिने क्रम धेरै नै बढेको छ भने त्यसमा अन्य कारण पनि जोडिएको हुनसक्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह बताउँछन् ।
नेपालमा छोराको सङ्ख्या बढ्नुमा छोराको चाहनामा लिङ्ग पहिचान गरेर छोरीको गर्भपतन गराउनु, प्रजनन् दरमा कमी आउनु जिम्मेवार हुनसक्ने उनी बताउँछन् । छोरीको तुलनामा छोरा बढी जन्मिनुमा सामाजिक कारण छोरा चाहिन्छ भन्ने प्रवृत्ति धेरै भएको हुनसक्ने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सङ्गीता मिश्रा बताउँछिन् ।
लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नु त कानुन विपरीत हो । तैपनि प्रविधिको प्रयोग गरेर लिङ्ग पहिचानबाट छोरी भए गर्भपतन गर्ने र छोरा भए जन्माउने भएर पनि यस्तो भएको हुनसक्छ तर यो कहाँ भइरहेको छ भन्ने कुरा भने यकिन भन्न सक्ने अवस्था नभएको मिश्रा बताउँछिन् ।
नेपाली समाजमा छोराछोरी बराबर हो, छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेत छ । तर केही नहुनु भन्दा छोरी हुनु ठीक हो तर सकेसम्म छोरा नै भइदिए हुन्थ्यो भन्ने लैङ्गिक विभेदले मनमा जरा गडेको छ । त्यही मानसिकताका कारण छोरा जन्मिने दर बढेको समाजशास्त्री मीना पौडेल बताउँछिन् ।
कस्तो अवस्थामा छोरा कस्तो अवस्थामा छोरी जन्मिन्छ ?
छोरा वा छोरी के जन्मिन्छ भन्ने कुरा कुनै पनि दम्पतीले निर्धारण गर्न सक्ने कुरा होइन । गर्भको बच्चा छोरा हुने वा छोरी हुने कुरामा पुरुषको कुन क्रोमोजोमले महिलाको डिम्बलाई निषेचन गरेको छ, त्यही कुरामा निर्भर हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सुनिता व्यञ्जनकार बताउँछिन् ।
उनी भन्छिन्, ‘चिकित्सा विज्ञानका अनुसार यौन सम्पर्कको क्रममा स्खलित हुँदा पुरुषले धेरै शुक्रकीट निस्कन्छन् । ती शुक्रकीटमा केही छोरा जन्माउने क्रोमोजोम हुन्छन् भने केहीमा छोरी । यसरी शुक्रकीट जब डिम्बसम्म पुग्छ, यसले डिम्बलाई निषेचित गर्छ ।’
डिम्ब न्युट्रल हुन्छन् अर्थात् न पुरुष न त महिला । डिम्बमा दुई ‘एक्स’ क्रोमोजोम मात्रै हुन्छन् भने शुक्रकीटमा ‘एक्स’ र ‘वाई’ दुवै क्रोमोजोम हुन्छन् । महिलाको एक्स क्रोमोजोम र पुरुषको वाई क्रोमोजोमको मिलन भएमा छोरा जन्मिन्छ भने महिलाको एक्स क्रोमोजोम र पुरुषको पनि एक्स क्रोमोजोम नै मिलन भयो भने छोरी जन्मिने डा. व्यञ्जनकार बताउँछिन् ।
कस्तो हुनुपर्छ नीति ?
त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्रा. योगेन्द्रबहादुर गुरुङ भन्छन्, ‘जनसंख्या यसरी घट्नु राम्रो कुरा होइन । अब सोचविचार गरेर अर्को नीति बनाउनुपर्छ । राज्यले छोरा र छोरीबीचको असमानता हटाउन कानुनी व्यवस्था गर्नुपर्छ ।’
नेपालमा रहेका १४२ जातजातिमध्ये केही समुदायको जनसंख्या एक हजारभन्दा कम रहेको र प्रजननदर घट्दै गएमा ती समुदायको अस्तित्व नै संकटमा पर्न सक्ने उनी चेतावनी दिन्छन् ।
‘केही समुदायमा प्रोत्साहन गरेर छोराछोरी समान रुपमा जन्माउने कानुन ल्याउनुपर्छ’ गुरुङ सुझाउँछन् । पछिल्लो लैङ्गिक अनुपातको असर अहिलेका बालबालिका विवाह गर्ने उमेरमा पुग्दा देखिने भन्दै परिस्थिति विगतको चीनकै जस्तो हुन सक्ने उनको आकलन छ ।